बुटवल , १६ भाद्र २०७७
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैक बनाउने अभियान सुरु गरेको छ । सोमबार परिषद् प्रदेश ५ को समन्वयमा कपिलवस्तु अस्पताल तौलिहवामा प्लाज्मा अभियानका लागि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्य रहेको छ ।
ताैलिहवा अस्पतालका संक्रमणमुक्त भएका कर्मचारीहरुबाट प्लाज्मा थेरापीका लागि १७ पिन्ट रगत संकलन भएको परिषद्का प्रदेश ५ का संयोजक डा. प्रशान्त आचार्यले बताए । ‘उदाहरणीय काम गर्नु भएकोमा रक्तदाता, सहकार्य संस्था तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु । यसलाई हामीले यसरी नै अभियान बनाएर कोभिड उपचारमा सहज बनाउने छौं,’ उनले भने । उक्त रगत कोरोना आईसीयु रहेको बुटवल धागो कारखानास्थित अस्थायी कोभिड अस्पतालमा प्लाज्मा थेरापीमा प्रयोग हुनेछ । कोरोना पोजिटिभ भएर निको भएका स्वस्थ व्यक्तिहरुको शरीरको रगतमा हुने प्लाज्माबाट कोरोनाबाट गम्भीर भएर उपचारमा रहेका बिरामीको उपचार गर्न सकिन्छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार प्लाज्मा थेरापीबाट धेरै कोरोनाको बिरामीहरुलाई सन्चो भएका उदाहरण छन् । कोरोना संक्रमणमुक्त भएको अर्थात पिसिआर नेगेटिभ आएको १४/१५ दिनपछि प्लाज्मा दान गर्न सकिन्छ । कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बन्जाडेले स्वास्थ्यकर्मीहरु यो महामारी विरुद्ध फ्रन्टलाइनमा खट्दिा आफू नै पोजिटिभ हुन पुगेको र आफूहरुको प्लाज्मा अन्य बिरामी बचाउनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । ‘हाम्रो समाजले हामीलाई हेर्न दृष्टिकोणमा परिवर्तन आउन जरूरी छ,’ ‘हामीले दिएको रगतबाट कोरोना संक्रमित बिरामीको ज्यान बचोस्, उहाँहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।’ बुटवल प्रादेशिक अस्पतालका कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका को—अर्डिनेटर डा. सम्राट पराजुलीले अहिले अस्पतालमा रगत अभाव भएको कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भैरहेको बताए । ‘बिरामीमा राम्रो सुधार आउने हुनाले यस्तो अभियानले हामीलाई धेरै सहज हुन्छ,’ उनले भने, ‘त्यसैले जनचेतना फैलाउन अवश्यक छ ।’
लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन फिजिसियन डा. सुदर्शन थापाले अभियान कोरोना संक्रमितको उपचारमा प्लाज्मा अभाव हुन नदिन सहयोगी हुने बताए । ‘उपचारमा प्लाज्मा अभाव हुन नदिन यसले सहयोग पुर्याउने छ,’ उनले भने, ‘रगतबाट प्लाज्मा तयार गरी बुटवल ब्लड बैंकमा राखेर एक वर्षसम्म प्रयोग गर्न सकिनेछ ।’