काठमाडौं महानगरपालिकाले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा हानीकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न २ करोड रुपियाँ अनुदान प्रदान गर्ने भएको छ ।
आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बिच अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानीकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उत्पादित हानीकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ ।
अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माण कार्यका लागि खर्च गर्न पाउनेछ । सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ ।
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँमा हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्ड बमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनु पर्ने अवस्था रहेको बताउनुभयो । यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ हुनेछ ।







