चितवन,२७ असार २०८०
भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका हाडजोर्नी रोगका विशेषज्ञहरु डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईको पुस्तक ‘नेपालमा हाडजोर्नी रोगको उपचारमा भएका अभ्यासहरु’ (अर्थाेपेडिक्स प्राक्टिस इन नेपाल) सार्वजनिक भएको छ ।
एलाइभ अस्पतालको १२औं वार्षिकोत्सवका अवसरमा आइतबार भरतपुरको ठिमुरा रिसोर्टमा विशेष कार्यक्रम गरी सो पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकलाई लेखक डा. लामिछाने, डाक्टर भट्टराई, निजी अस्पताल समन्वय समिति चितवनका संयोजक डा. नारायणसिंह कुँवर, चितवन मेडिकल कलेजका हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. आनन्द रेग्मी, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, डा. लामिछानेका बुबा कृष्णप्रसाद लामिछाने र आमा कमला लामिछानेले संयुक्तरुपमा सार्वजनिक गरेका छन् । १३४ पृष्ठको पुस्तकमा नेपालमा हाडजोर्नी रोगको उपचारमा गरिएका अभ्यासहरु, देखिने समस्याहरु, उपचारमा गरिएको पछिल्लो प्रयासहरुबारे अनुसन्धानमूलक ढंगले प्रस्तुत गरिएको छ ।
भविष्यमा हाडजोर्नी उपचारमा संलग्न हुने चिकित्साका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरुको लागि पुस्तक निकै उपयोगी हुने आशा गरिएको डा. लामिछानेले बताए ।
लेखकद्वय डा. लामिछाने र डा. भट्टराईका अनुसार निकै मेहनत गरेर हाडजोर्नी तथा नशा रोगको विषयमा, जटिल र असजिला अप्रेशन कसरी गर्ने ? सिमित स्रोतसाधनबाट पनि कसरी अन्तर्राष्ट्रियस्तरको सेवा नेपाली बिरामीलाई दिने ? डोल्पा हुम्ला जिल्ला जस्तो दुर्गम जिल्लामा पनि सिमित स्रोतसाधन र भौगोलिक कठिनाइका बीच पनि कसरी काठमाडौंको जस्तो सेवा दिने भन्ने कुरा पुस्तकमा उल्लेख छ ।
डा. लामिछाने र डा. भट्टराईको १२ वर्षको लामो अनुभव र धेरै बिरामीको रेकर्ड सहितका उपचार पद्धति पुस्तकमा उल्लेख छ । असजिलो अवस्थामा कसरी अप्रेशन सफल गराउने, उपचारको बीचमा दुविधा भएमा कसरी अगाडि बढ्ने, अप्रेशनको बीचमा एक्कासी समस्या आएमा बिरामीलाई क्षति नपुग्ने गरी कसरी सफलतासहित अप्रेशन सक्ने जस्ता धेरै बिधिहरु पुस्तकमा फोटोसहित प्रस्तुत गरिएको छ ।
एलाइभ अस्पतालको १२ औं वार्षिकोत्सवको अवसरमा अस्पतालका विभिन्न पदमा रहेर योगदान पुर्याउने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अस्पतालकी कर्मचारी बिमला देउजा, नर्स सरिता गुरुङ, अडिटर माधवप्रसाद बास्तोला, हाडजोर्नीसम्बन्धी सर्जन तथा पुस्तकका लेखक डाक्टर भट्टराई, एनेथेसोलोजिस्ट डा. दीपकराज तिवारी रहेका छन् । पत्रकार विनोदबाबु रिजालले सहजीकरण गरेको कार्यक्रममा अस्पतालका विभिन्न वार्डमा कार्यरत कर्मचारीहरुले नृत्य र क्यारिकेचर प्रस्तुत गरेका थिए ।
लेखकद्वय डा. लामिछाने र डा. भट्टराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हाडजोर्नी रोग र उपचारबारेमा कार्यपत्रहरु प्रस्तुत गर्दै आइरहेका छन्।