खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १,६१९ जना सेवाग्राहीले विशेषज्ञ सेवा लिएका छन्।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले गरिमा विकास बैंक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा गरेको शिविरले खोटाङका स्थानीय समुदायमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
ॐ हस्पिट एण्ड रिसर्च सेन्टरका प्रा.लि काठमाडौँका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा.आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा ३३ जना विशेषज्ञ टोलीले जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति, स्त्री क्यान्सर जाँच, हाडजोर्नी, दन्त, बालरोग, मानसिक स्वास्थ्य र छाला रोग लगायतका सेवाहरू उपलब्ध रहेका थिए। जुन लक्ष्यभन्दा बढी सेवाग्राहीले लाभ लिएको थियो।
दूरदराजका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने हाम्रो प्रतिबद्धता थप मजबुत बनेको छ। अवसर, सहकार्य, सहयोग र सहभागिताका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, गरिमा विकास बैंक, फार्मास्युटिकल कम्पनिहरु, विभू बिस्त्रा फार्मेसी परिवार लगायतका सम्पूर्ण सरोकारवालाप्रति अस्पतालले धन्यवाद प्रकट गरेको छ।







