काठमाडौं, २५ चैत्र २०७९
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगानी बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।
बिहिबार नेपाल एनसिडी अलाइन्स र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडिया एड्भोकेसी कार्यक्रममा उनीहरुले लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा एनसिडी अलाइन्सका उपाध्यक्ष डा. अभिनभ वैद्यले नसर्ने रोगको भारको तुलनामा लगानी थोरै भएको बताए। अस्वस्थकर जीवनशैली र मोेटोपनाका कारण नसर्ने रोग बढ्दै गइरहेको उनले बताए। नेपालमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ऐन आएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको डा. वैद्यले बताए।
नेपाल एनसिडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नसर्ने रोग महामारीको रुपमा बढीरहेको बताए। नसर्ने रोगकै कारण बिरामीहरुले आर्थिक भार समेत खेप्नु परेको उनले बताए। नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकार, सरोकारवाला र सञ्चारमाध्यमले धेरै काम गर्न बाँकी रहेको बताए।
डा. रेग्मीले भने, ‘नसर्ने रोगको रोकथामका लागि गर्नुपर्ने कामहरु धेरै छन्। यसमा मिडियाको भूमिका महत्वपूर्ण छ। मिडियाले जनचेतना र वकालत गर्न आवश्यक छ।’
कार्यक्रममा शान्तलाल मुल्मीले सञ्चारमाध्यमले नसर्ने रोगका स–साना मुद्दाहरुमा कलम चलाउन आग्रह गरे। अलाइन्सका महासचिव किशोर कुमार प्रधानाड्डले नसर्ने रोगको रोकथामका तथा न्यूनीकरणका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गरिने जानकारी दिए।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुले नसर्ने रोगका विषयलाई प्राथमिकताका साथ कलम चलाउने गरेको बताए। नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि मञ्चले पत्रकारिताको तर्फबाट विभिन्न पहल गरिने प्रतिवद्धता व्यक्त गरे।
मञ्चका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानले कार्यक्रममा नसर्ने रोगको नियन्त्रण तथा रोकथामका लागि सञ्चारमाध्यमको भूमिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए