चितवन, २ चैत्र २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनयमएसआरए) नेपालको २८ औं राष्ट्रिय महाधिवेशन चैत ३ र ४ गते चितवनमा हुने भएको छ ।
भरतपुर २ क्षेत्रपुरमा रहेको दियालो फुडल्याण्डमा महाधिवेशन हुन लागेको हो । नेपाल औषधि बिक्री प्रतिनिधिहरुलाई बोलिचालिको भाषामा मेडिकल रिपे्रजेन्टिटिभ (एमआर) भन्ने गरिन्छ ।
संघका केन्द्रीय अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ ईकाईबाट ५०० प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनले प्रगति र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ ईकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको दाहालले जानकारी दिनुभयो । दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ । संघका देशभरमा १४ वटा इकाई रहेका छन् । ठाउँ र जिल्ला अनुसार एउटा इकाईमा दुई वा दुईभन्दा धेरै जिल्ला पर्ने गर्दछन् ।
महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिएको छ । महाधिवेशन स्थल, आवास लगायतका तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । संघको तथ्यांक अनुसार देशभर ६ हजारभन्दा बढी सदस्य रहेका छन् । सदस्य मध्येबाट प्रतिनिधि छनोट भएर महाधिवेशन आउने हुन् । न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता सदस्यहरुमा रहेको दवाडीले बताउनुभयो । आधाभन्दा बढी सदस्यहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । कतिपय उद्योगहरुले कम योग्यताका कामदारहरु समेत राख्ने गरेको उहाँले बताउनुभयो । संघदे सदस्यहरुको हकहितका लागि कार्य गर्दै आएको छ ।
अहिले नेपालमा १५० भन्दा बढी विदेशी र ९५ नेपाली औषधि उद्योगका उत्पादन बजारमा आउने गरेका छन् । उद्योगले उत्पादन गरेको औषधिको उपयोगिताबारे चिकित्सक र स्वास्थ्यकर्मीलाई बुझाउने काम एमआरहरुले गर्ने गर्दछन् ।