काठमाडौँ, ७ माघ २०७९
नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति छनौट गर्न हिजो देखि सुरु भएको काठमाडौँ उपत्यका बाहिरको मतदान आज शनिबार पनि शान्तिपूर्ण तरिकाले भइरहेको छ ।
प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाले आज पनि विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म तोकिएका १६ वटा केन्द्रमा मतदान भइरहेको बताए ।
मतदानको पहिलो दिन शुक्रबार उपत्यका बाहिर कुल १ हजार आठ सय ७८ मत खसेको थियो ।
कोशीमा सबैभन्दा धेरै २ सय ९१ मत खसेको थियो । आज शनिबार भएकोले शुक्रबारको तुलनामा बढी मत खस्ने निर्वाचन समितिले अनुमान गरेको छ ।
काठमाडौं बाहिर शुक्रबार र शनिबार मतदान हुने छ भने काठमाडौं भित्र यही १९, २० र २१ गते मतदान हुँदैछ।
निर्वाचनमा डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानलहरु निकै प्रतिस्पर्धामा छ ।