धनगढी, ०२ फागुन २०७८
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निजीस्तरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढी कैलालीले कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा शुरु गरेको छ।
नेपालमै कलेजो सम्बन्धि डीएम गरेका चार जना डाक्टरमध्येका डा. अर्बिन्द पोखरेल पनि एक हुन् । त्यस्तै सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ डा. पुष्पराज अवस्थी सुदूरपश्चिमकै पहिलो डाक्टर र नेपालकै दुईजना डाक्टर मध्येका एक हुन् । डा. पोखरेल र डा. अवस्थीले धनगढीको निसर्ग हस्पिलमार्फत यी विशेषज्ञ सेवा दिन लागेको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।
हेपाटोलोजी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएसँगै अब यस क्षेत्रका सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने अध्यक्ष पन्तले बताए।
कलेजोको समस्याबाट पीडित बिरामीले हाल काठमाडौंलगाएत भारत धाउनुपर्ने बाध्यता छ । अब सो समस्या अन्त्य हुने अस्पतालको विश्वास छ । सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा प्रारम्भ भएपछि यस प्रदेशमा सिकिस्त हुने बालबालिकामध्ये धेरैको ज्यान जोगिने डा. अवस्थीले बताउनुभयो।
विशेष गरी लिभर फेल भएका बिरामीहरु, लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने बिरामी, हेपाटाइटिस संक्रमण भएर सामाजिक रुपमा पनि पीडित बिरामी र रक्सीले कलेजोमा असर गरेका बिरामी तथा जन्डिसबाट पीडित बिरामीका लागि यो सेवा धनगढीमै पाउनु उपलब्धिूुलक भएको हस्पिटलका अध्यक्ष पन्त बताउँछन्।
हस्पिटलका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारीले भने; विशेषज्ञता हासिल गरेका व्यक्ति यस क्षेत्रले पाउनु भनेको निकै खुसीको कुरा हो । चिकित्सा क्षेत्रबाट यो ठाउँलाई पनि छुट्टै चिनारी दिन सकिन्छ।