काठमाडौं , ०१ वैशाख २०७८
राजधानीको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजना गरिएको कार्यक्रममा करिब १ सय भन्दा बढीले रक्तदान गरेका थिए ।
न्युरो हस्पिटलबाट २०६२ साल देखि सेवा सञ्चालन शुरु भएको थियो । हस्पिटलको बार्षिकोत्सवका अवसरमा हस्पिटलकी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले भन्नुभयो– आज मेरो मनमा धेरै थरीका भावनाहरु उम्लिरहेका छन् । विगतलाई सम्झिरहेको छु ।
आज विटर स्विट (तितो मिठो) भइरहेको छ । १५ वर्ष पूरा गरेकोमा खुशीयाली र प्रा.डा. उपेन्द्र देवकोटाले न्युरो साइन्स सम्बन्धि सेवालाई नेपाली जनता समक्ष सर्वसुलभ बनाउन बेलायतबाट फर्केर गरेको नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसको परिकल्पनाको सम्झना आइरहेको छ । त्यो बेलाको असहज परिस्थितिमा हस्पिटल सञ्चालनमा ल्याउन सफल भएका थियौ ।
प्रा.डा. देवकाटाले बीर हस्पिटलमा रहेर २० बर्ष भन्दा बढी सेवा गर्नुभएको थियो । त्यसपछि न्युरो हस्पिटलको स्थापना गरी सेवा सञ्चालनमा ल्याउन सफल हुनुभएको थियो ।

हस्पिटलमा बिगत एक वर्ष देखि मस्तिष्कघात र एन्युरिजम समस्यामा विना शल्यक्रिया हात वा गोडाको नसाबाट क्याथेटर छिराएर गरिने उपचार पद्धति न्युरो इन्ट्रोभेन्सन प्रविधिबाट दर्जनौंले नयाँ जीवन प्राप्त गरिरहेका छन् यसले वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको अधुरो सपना पूरा भएको छ ।