काठमाडौं, १३ चैत २०७८
नेपाल नेत्र ज्योति संघले आफ्नो स्थापनाको ४३ वर्ष पार गरी ४४ औं वर्षमा प्रवेश गरेको अवसरमा संघले आँखा क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरेको छ ।
आइतबार हिमालयन होटेलमा भएको दिवसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाको प्रमुख अतिथि, अध्यक्ष केन्द्रीय सदस्य प्राडा. चेतराज पन्त, विशेष अथिति प्राडा. राम प्रसाद पोखरेल र वीर अस्पतालका उपकुलपति डा. देवनारायण शाहको उपस्थितमा कार्यक्रम शुरु भएको थियो।
आँखा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालयलाई विशेष सम्मान गरिएको छ । मुख्य मन्त्री कार्यालयका सचिव मनमाया पंगेनी भट्टराईलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरे ।
यस्तै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, पाल्पामा सेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे), विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताल, सीबीएम नेपालका कन्ट्री डाइरेक्टरर सुरज सिग्देल, अर्बिट इन्टरनेशनलका अभिसेक कुमार झालाई समेत सम्मान गरिएको थियो ।
यस्तै संघमा लामो समय काम गरेको भन्दै दीर्घसेवा पदकबाट नेत्र सहायक भोलानाथ नेपाल र सवारी चालक देवबहादुर बुढाथोकीलाई समेत सम्मान गरिएको थियो ।
नेपाल नेत्र ज्योति संघ२०७८ को नारा हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आखाँ सेवामा साझेदारी रहेको छ।
दिवसमा नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले नेपाल नेत्र ज्योति संघले के काम गर्छ, यसको के उदेश्य के छ, भविष्यमा के काम गर्नेछ जस्ता विषयमा छलफल गर्नुभएको थियो।
डा.मिश्रका अनुसार वि.सं. २०३५ साल चैत १३ गते नेपाल नेत्र ज्योति संघको स्थापना भएको थियो। यस संंघले देशका लगभग ९० प्रतिशत नेपाली जनतामा सुलभ, सस्तो र गुणस्तरीय आखाँ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नेपालमा २७ आखाँ अस्पतालहरु, १४८ आखाँ उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरूका साथै हजारौं समाजसेवीहरु, प्रदेश सरकार, स्थानीय सरकार, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारण लाई सहज र सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा नेपाल नेत्र ज्योति संघले अग्रणी भूमिका खेल्दै आएको छ।