काठमाडौं, २० फागुन २०७८
नेपाल औषधी उत्पादक संघको आयोजनामा काठमाडौं उपत्यका बाहिर दोस्रो पटक चितवनमा आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आगामी वैशाख ९ देखि ११ सम्म हुने भएको छ।
संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा आयोजना गरीएको फर्मा एक्स्पोका बारेमा जानकारी दिएको हो। चितवनमा हुन लागेको करिब १५ हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने संघले जनाएको छ।
संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसअघि फागुनमा तय भएको एक्सपो कोभिड–१९ संक्रमण जोखिमका कारण सारिएको जानकारी दिए।
उनले भने, नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्न, नेपाल औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्य एक्स्पोको रहेको छ।
सँगका उपाध्यक्ष महेश प्रधानले एक्स्पोमा १६० स्टल रहने, औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहराष्ट्रिय कम्पनी र ४० बटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिने बताउनुभयो।
नेपाल फर्मा एक्स्पोको आवद्ध संस्थाहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधी व्यवसायिक संघ, नेपाल औषधी जोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघ रहेका प्रधानले जानकारी दिनुभयो।
औषधी उद्योगले नेपालमा वर्षको ६० अर्वको कारोबार गर्दै आएका छन्। यसअघिको ७ औं एक्सपो पनि चितवनमा आयोजना गरीएको थियो।
संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा गुणस्तरीय औषधि उत्पादन हुन्छ, औषधि उत्पादन जति पनि राष्ट्रिय उद्योगलाई छ्न् तिनको सुरक्षा तथा प्रवर्धन गर्नुपर्छ, र त्यसले जनतालाई जुनसुकैबेला सहुलियत दरमा औषधि उपलव्ध गराउन पनि मद्धत पुग्ने बताए।
नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक तथा एपोनका निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले ६० अर्व बढी लगानी भएको नेपाली औषधि उद्योगलाई प्रवद्धन तथा नयाँ टेक्लोलोजीबारे जानकारी लिनु- दिनु एक्सपोको उदेश्य रहेको बताए।