काठमाडौं, ४ फागुन २०७९
नेपाल नेत्रज्योति सङ्घ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ ।
प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनी रहेका आम नागरिकहरूलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरूकाबीचमा सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति सङ्घका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा नेत्रज्योति सङ्घका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिती रहेको थियो ।
सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति सङ्घको पुर्वाञ्चल क्षेत्रिय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनी रहेका नागरिकहरूलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ ।
दुई संस्थाहरूबीचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने सङ्घले जनाएको छ ।
नेत्रज्योति सङ्घ र सिबिएम ग्लोबलका बिचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गर्न विगत ४० वर्षदेखि निरन्तर सहकार्य भइरहेको छ ।
संघका कार्यकारी निर्देशक डा. शैलेस कुमार मिश्रले भने हाम्रो ४० वर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् । जसले उनिहरुको आर्थिक सामाजिक जिवनमा ठुलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ।
सम्झौता पछि बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट काम कै कारण बिगत ४० वर्षदेखि विभिन्न कार्यक्रममार्फत नेत्रज्योति सङ्घसंग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति सङ्घको लक्ष्यलाई यो सहकार्यले ठूलो सहयोग पुर्याउने नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा.डा चेतराज पन्तले बताए ।
अहिले पनि नेपालमा कतिपय जनताहरू आर्थिक अभावकै कारण दृष्टिबिहिनतामा बसिरहेको भन्दै उनले यस्तै सङ्घ संस्थाहरूको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपननको निवारण हुने विश्वास व्यक्त गरे ।
हाल कर्णाली प्रदेशमा नेत्रज्योति सङ्घ र सिबिएमको सहकार्यमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
हाल नेत्रज्योति सङ्घले २७ वटा आँखा अस्पताल, १ सय ५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरूमार्फत नागरिकहरूलाई सर्भसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरूसँगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरूले निः शुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन्।