नेपाल मेडिकल काउन्सिलले नेपालमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूले काउन्सिलमा दर्ता वा दर्ता नवीकरण नगरी चिकित्सकीय अभ्यास नगर्न तथा नगराउन जानकारी गराएको छ ।
मेडिकल काउन्सिलले सूचना जारी गर्दै नेपालभित्र केही विदेशी चिकित्सकहरूले विधिवत् दर्ता वा दर्ता नवीकरण नगरी सेवा दिइरहेको भन्ने जनगुनासो तथा उजुरी प्राप्त भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको हो ।
काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा नियमावली २०२४ अनुसार विदेशी नागरिक चिकित्सकले नेपालमा चिकित्सकीय सेवा प्रदान गर्नुअघि अनिवार्य रूपमा मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने र समयमै दर्ता नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
मेडिकल काउन्सिलले दर्ता वा नवीकरण नगरी चिकित्सकीय अभ्यास गर्नु प्रचलित कानुनविपरीत हुने स्पष्ट पारेको छ । यस्तो कार्य गर्ने वा गराउने चिकित्सकलाई ऐनको दफा २६ अनुसार अधिकतम तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
काउन्सिलले सम्बन्धित चिकित्सक, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरुलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ।






