काठमाडौं, १५ मंसिर २०७९
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि माघमा निर्वाचन हुने भएको छ । निर्वाचन तालिका अनुसार माघ ६ र ७ गते संघको साखा कार्यालयहरुमा र १९, २० र २१ गते संघको केन्द्रिय कार्यालय काठमाडौंमा मतदान हुनेछ ।
प्रत्येक ३ वर्षमा हुने निर्वाचनमा देश भरिका १० हजार भन्दा बढी संघका सदस्यहरुले मतदानबाट नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचनबाट एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक जनाका दरले ७ जना उपाध्यक्ष, एक जना महासचिव, एक जना कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ जना केन्द्रिय सदस्य गरि १९ जनाको केन्द्रिय कमिटि रहनेछ।
संघको भावी नेतृत्व चयनका लागि निर्वाचन समितिले निर्वाचन कार्यक्रम समेत प्रकाशित गरेर कार्य अगाडि बढाएको छ । जस अनुसार आगामी मंसिर २७ गते मतदाताको प्रथम नामावली प्रकाशन गरिने छ भने पुष २ गते अन्तिम नामावली प्रकाशन गरिनेछ । पुष ४ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
निर्वाचन आयोगले अध्यक्षमा उम्मेदवारी दिनका लागि दर्ता शुल्क रु. ७ हजार तोकेको छ । पुष ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने र माघ ६ र ७ गते शाखा कार्यालयहरुमा र १९, २० र २१ गते संघको केन्द्रिय कार्यालय काठमाडौंमा मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जनाएका छन् ।
हाल संघको अध्यक्षमा डा. लोचन कार्की छन् । संघका लोकतान्त्रिक र प्रगतिशिल गरि दुई प्यानलबिच निर्वाचन हुने गरेको छ । अहिलेसम्म संघमा लोकतान्त्रिक चिकित्सकहरुले नेतृत्व गर्दै आइरहेका छन् । तिन वर्ष अगाडि भएको संघको निर्वाचनमा डा. कार्की करिव ६० प्रतिशत मत ल्याएर प्यानल सहित बिजयी भएका थिए ।