ललितपुर, १९ जेठ २०८१
नेपाल क्यान्सर अस्पतालको ७ औँ वार्षिकोत्सवका अवसरमा जनचेतनामुलक सन्देस दिनको लागि पदयात्रा कार्यक्रमको आयोजना गरी मनाएको छ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न जनचेतनामुलक सन्देस रहेका प्लेकार्डसहित ललितपुरको लगनखेल-मंगलबजार-पुल्चोक हुदै जावलाखेलसम्म पदयात्रा गरेको हो।
पदयात्रामा क्यान्सर सरुवा रोग होइन, गुणस्तरीय निदान र उपचार हाम्रो प्रतिवद्वता, समयमै उपचार क्यान्सरको निदान, क्यान्सर हुदैमा डराउनु पर्दैन, क्यान्सरसँग लड्ने हो डराउने होइन, समय निकालेर आफु र आफ्नो स्वास्थ्य परिक्षण गरौ, नेपालीको उपचार नेपालमा नै, क्यान्सरको जनचेतना आफ्नै घरबाट शुरु गरौ, क्यान्सरसँग मिलेर जितौ जस्ता प्लेकार्ड बोकिएको थियो।
त्यसैगरी, मंगलबजार तथा जावलाखेलमा अस्पतालका डाक्टर, नर्स कर्मचारी तथा क्यान्सर विजेताहरुले जनचेतनामुलक सन्देशसहित नृत्यबाट मनोरन्जनात्मक प्रस्तुति समेत दिएका थिए।
अस्पतालले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा निःशुल्क ओपिडी, रक्तदान कार्यक्रम लगायत विविध कार्यक्रमहरु आयोजना समेत गरिरहेको छ।