काठमाडौं, २१ माघ २०८०
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर ललितपुरले क्यान्सरबारे सचेतना जगाउन वाकाथन कार्यक्रमको आयोजना गरेको छ ।
‘प्रत्येक कदममा आशा, प्रत्येक उपचारमा सफलता’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवसको अवसर पारेर उक्त वाकाथन गरिएको हो ।
शनिबार काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको वाकाथन शान्तिबाटिकाबाट सुरु भएर जमल, भद्रकाली, पुतलीसडक हुँदै पुनः शान्तिबाटिकामा पुगेर कोणसभामा भएर सप्पन्न भएको थियो ।
वाकाथन कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञहरु, अन्य चिकित्सकहरु, स्वास्थ्यकर्मी, कर्मचारी र क्यान्सर सर्भाइभर्स सम्बन्धि विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताउनु भयो । डा. श्रेष्ठले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए ।
उक्त कार्यक्रममा क्यान्सर रोगको सचेतनामा काम गर्ने उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप, रोटरी क्लब अफ एल लगायतका संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो ।
हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन क्यान्सरबारे सचेतना जगाउन विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।