ललितपुर, १० जेठ २०८२
ललितपुरको हरिसिद्दीस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आठौं वार्षिकोत्सवको अवसर पारेर क्यान्सरबारे सचेतना जगाउन वाकाथन कार्यक्रम गरि मनाएको छ।
शनिवार बिहान माइतीघर मण्डलाबाट सुरु भएको वाकाथन थापाथली, कुपण्डोल, हरुहर भवन, पुल्चोक हुदै जावलाखेलमा पुगेर समापन गरिएको थियो।
वाकाथनमा ‘क्यान्सर सरुवा रोग होइन’, समय निकालेर आँफु र आफ्नो स्वास्थ्य परिक्षण गरौँ’, ‘क्यान्सरको जनचेतना आँफैबाट शुरु गरौँ’, ‘क्यान्सरसँग लड्ने हो डराउने हैन’, सभ्य बनौँ सुरक्षित बनौँ’, क्यान्सर हुँदैन डराउने हैन’, ‘महिला शसक्तिकरण स्वास्थ्यबाट शुरु’, ‘नेपालीको क्यान्सर उपचार नेपालमानै’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित बोकेर वाकाथन गरिएको थियो।
वाकाथनमा अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठ, सहित अस्पतालका चिकित्सकहरु स्वास्थ्यकर्मीहरु कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताए। डा. श्रेष्ठले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए।
नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ आठ वर्ष अघि नेपाल क्यान्सर अस्पतालको स्थापना भएको थियो।