वीरगन्ज, ३१ असार २०८२
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो।
यस्तै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको छ।
नसर्ने रोगहरुविरुद्ध निरोधात्मक अभियान घोषणा गरेका मन्त्री पौडेलले मधेशका महिलाहरुको स्वास्थ्य रक्षाका लागि समयमै सुपथ मूल्यमा परीक्षण हुने गरी व्यवस्था मिलाएको बताउनु भयो। मन्त्रालयको सहयोगमा अस्पतालमा यसअघि नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सञ्चालनमा आइसकेको छ।
मन्त्री पौडेलकै सक्रियतामा अस्पतालमा लामो समयदेखि सञ्चालन हुन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउने तयारी छ।
मधेशको स्वास्थ्य सेवा सुधार हाम्रो प्राथमिकता हो,’ पौडेलले भने,‘थपिएका सेवाले यहाँका दिदीबहिनीहरुलाई धेरै पैसा खर्च गरेर देशबाहिर जानुपर्ने समस्या हट्ने आशा लिएको छु।’
मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरु विस्तारमा प्राथमिकताका साथका काम गर्ने बताए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले मधेश प्रदेशका महिलाहरुले दुवै सेवाका लागि काठमाडौं तथा भारतसम्म जानुपर्ने समस्या रहेको थियो अब यही उपचार यही हुँदा उपचारमा धेरै सहज भएको बताए।