पर्सा, २६ भाद्र २०८१
बिरगंजस्थित नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवा शुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक कार्यक्रमकाबीच नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको मंगलबार उद्घाटन गरेका हुन।
भक्तपुर क्यान्सर अस्पतालसँग सहकार्य गर्नेगरी सेवा विस्तार गरिएको हो। भक्तपुर क्यान्सर अस्पतालले नारायणी अस्पतालमा जनशक्ति लगायतका प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ।
सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा बिरामीलाई चाहिने सबै सेवाहरू उपलब्ध हुने गरि काम गर्ने बताए। उनले भने, ‘क्यान्सरका बिरामीहरू दिनप्रतिदिन बढिरहेका छन, क्यान्सर भएर भएभरको सम्पति सकिएको महिनाकै ८० हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको गुनासोहरू क्यान्सर रोगका बिरामीका आफन्तले मसँगै गरेका छन्। त्यसकारण धनी र गरिब सबैले स्वास्थ्य सेवा सामान ढङ्गले पाउनु पर्ने स्थिति हुनुपर्छ।’
सेवा विस्तार कार्यक्रमका लागि भक्तपुर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले नारायणी अस्पतालका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो।
सातै प्रदेशमा क्यान्सर उपचार विस्तार गर्ने स्वास्थ्यमन्त्री पौडेलले योजना अनुसार नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवा सुरु गरिएको हो।
स्वास्थ्य उपचारमा सबैको पहुँच स्थापित गर्न स्वास्थ्य बिमालाई व्यवस्थित गर्दै एकलाख बाट बढाइ पाँचलाख सम्म पुर्याउन जरुरी रहेको उनले बताए।