भक्तपुर, ०४ साउन २०८२
गठ्ठाघरस्थित ह्याम्स अस्पतालद्वारा व्यवस्थापन गरिएको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल प्रालिले अत्याधुनिक सीटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ।
आइतबार एक कार्यक्रमका बीच प्रमुख अथिती रहेका नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले उक्त सेवाको औपचारिक रूपमा शुभारम्भ गरेको हो।
नागरिक अस्पतालले सुरु गरेको यो अत्याधुनिक सीटी स्क्यान सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको उच्चस्तरीय परीक्षण सहज र सुलभ रूपमा उपलब्ध हुने विश्वास गरिएको ह्याम्स अस्पतालका अध्यक्ष राम शरण भण्डारीले बताए।
यस्तै मुटुको सिटी एन्जियोग्राम सेवा उपलब्ध भएपछि हृदयघातजस्ता प्राणघातक अवस्थाहरूको समयमै निदान र उपचार सम्भव हुने अपेक्षा गरिएको जसले भक्तपुर जिल्ला बाहिर जानुपर्ने समस्यामा पनि उल्लेखनीय राहत पुर्याउने पनि भण्डारीले जानकारी दिनुभयो।
अस्पतालले यस प्रविधिको सुरुआतसँगै “समुदायमा आधुनिक प्रविधिमार्फत गुणस्तरीय र सहज सेवा प्रदान गर्ने” उद्देश्य राखेको छ। अस्पतालका अनुसार भविष्यमा पनि थप आधुनिक सेवा विस्तार गर्दै जाने प्रतिबद्धता लिइएको छ।
अस्पताल व्यवस्थापनले सेवा सुविधा समुदायसम्म पुर्याउन विभिन्न माध्यमबाट जनचेतना फैलाउने काममा संलग्न सबैप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र समर्थनको अपेक्षा राखेको छ।
उद्घाटन समारोहमा भक्तपुर क्षेत्र न. दुईका सांसद दुर्लभ थापा, नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजाल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईराला, प्रख्यात स्त्रीरोग तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र वरिष्ठ छाती रोग विशेषज्ञ डा. अर्जुन कार्कीजस्ता विशिष्ट चिकित्सक एवम् अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सकहरू, व्यवस्थापन टोली, कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।