काठमाडौं, ०१ वैशाख २०८०
नेपाली फर्मा कम्पनी म्याग्नस फर्माले सीओपीडी रोगको नयाँ औषधी रोफ्लुमिलाष्टलाई नेपाली बजारमा ल्याएको छ।
‘रोफ्लु’ ब्रान्ड नामको ५०० एम.सि.जी.मा म्याग्नसले उक्त औषधी नेपाली बजारमै पहिलो पटक ल्याउन सफल भएको म्याग्नस फर्माका निर्देशक शुधिर प्रकाश मास्केले जानकारी दिए। सीओपीडी एक श्वासप्रश्वास सम्बन्धी रोग हो जसले फोक्सोलाई असर गर्छ र यसले सास फेर्न गाह्रो बनाउँछ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २०१८ को एक तथ्याङ्क अनुसार नेपालमा ११.७ प्रतिशत लाई सिओपीडी भएको पाइएको छ भने यसको प्रकोप नेपालमा प्रत्येक वर्ष बढ्दै गएको बताइएको छ।
नेपालमा सिओपीडी रोगको लागि धेरै प्रकारको स्टेरोइड तथा सिधै फोक्सोमा काम गर्ने खालको ‘इन्हेलर’ बाट लिने औषधीहरू उपलब्ध छन्। तर यी औषधीहरु प्रयोग गर्दा गर्दै पनि कहिलेकाही सिओपीडी भएका बिरामीको अवस्था बिग्रने र सासै फेर्न पनि गाह्रो हुने परिस्थिती आउन सक्छ। जसलाई ‘सिओपीडी एक्सासर्वेसन’ भनिन्छ। यस्तो अवस्थामा बिरामीलाई तुरुन्त अस्पताल लानुपर्ने तथा यस्तो समस्या पटक-पटक भएमा बिरामीको ज्याननै जोखिम हुन सक्छ।
‘रोफ्लुमिलाष्ट’ ले ‘सिओपीडी एक्सासर्वेसन’ हुने दरलाई घटाएर सिओपीडबाट बिरामीलाई हुन सक्ने जोखिमबाट बचाउने गर्छ।’रोफ्लुमिलाष्ट’लाई ‘सिओपीडी गोल्ड’ जस्ता अन्तर्राष्ट्रिय गाइडलाइनले सिओपीडीको दिर्घकालिन उपचारको लागि सिफारिस गरेको पाइन्छ।
‘रोफ्लु’ ५०० एम.सि.जीमा उपलब्ध रहेको र यसको मूल्य प्रति व्याब्लेट रू. २० मात्र कायम गरिएको निर्देशक मास्केले जानकारी दिनुभयो।