मुस्ताङ, १ भाद्र २०७९
मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्षपछि पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ।
बुधबार बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको थासाङ गाउँपालिका ३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो। उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन्। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
एमडीजीपी डा. कुन्दन कर्णको नेतृत्वमा डा. बिशाल तिवारी, डा. राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो।
२०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ।
यसअघि शल्यक्रिया गर्नु पर्ने गर्भवती महिला र सुत्केरी महिलालाई हेलिकप्टर मार्फत पोखरा लगायतका अन्य ठाँउमा पठाउनु पर्ने बाध्यता थियो । कसैको समयमै उपचार नभई मृत्यु सम्म भईरहेको अवस्था थियो अब त्यो अवस्थाको अन्त्य हुने अस्पतालका एमडिजिपी डा. कुन्दन कर्णले बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीको नेतृत्वमा पहिलो पटक दुर्गम मुस्ताङ जिल्लामा गर्भवती महिलाको सफल शल्यक्रिया गर्न पाउदा खुशी लागेको उनले प्रतिक्रिया दिए । अब यस क्षेत्रका जनतालाई सहजै राम्रो सेवा दिन सकिने डा. तिवारीको भनाई छ।