नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको बताइएको छ।
कार्यशालामा औषधि आयात क्षेत्रसँग सम्बन्धित विभिन्न जटिल र समसामयिक विषयहरूमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा Certificate of Pharmaceutical Product (COPP) सम्बन्धी समस्या, हालको Maximum Retail Price (MRP) सम्बन्धी चुनौतीहरू, विश्वव्यापी मूल्य दबाब तथा त्यसको नेपालमा समायोजन, औषधिमा लाग्ने भन्सार तथा VAT सम्बन्धी मुद्दाहरू, भन्सार मूल्याङ्कन र त्यसको व्यवसायमा पर्ने प्रभाव, साथै सरकारी नीतिहरू र औषधि आपुर्ति र उपलव्धतामा पर्ने असरका विषयहरू समेटिएका थिए।
नेपाल औषधि आयातकर्ता संघका महासचिव मधु पौडेलले कार्यक्रमको उद्देश्य तथा एजेण्डाहरू संक्षेपमा प्रस्तुत गर्दै नियामकीय असमञ्जस्यता समाधान गर्न एकीकृत पहलको आवश्यकता बारे बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष पवन आचार्यले वर्तमान जटिल परिस्थितिमा अघि बढ्नका लागि निजी क्षेत्र र सरकारी निकायबीच समन्वय अत्यन्त आवश्यक रहेको बताउनु भयो।
त्यसैगरी उपाध्यक्ष पृथ्वी राज वैद्य सल्लाहकार श्रीबिन्दु राजभण्डारी र पूर्व अध्यक्ष (IPP) अञ्जन कुमार पुडासैनीले पनि साझा लक्ष्य प्राप्तिका लागि एकीकृत र सामूहिक प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, समस्या तथा सुझावहरू प्रस्तुत गर्दै समाधानका उपायहरूमा सक्रिय छलफल गरेका थिए। विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरूको सहभागिताले अन्तर्राष्ट्रिय अनुभव र दृष्टिकोणसमेत कार्यक्रममा समेटिएको थियो।
कार्यक्रमको अन्तमा, औषधि आयात क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न MIAN ले अग्रणी भूमिका खेल्ने र सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी नीतिगत तथा कार्यान्वयन तहका चुनौतीहरूलाई सहज बनाउने सहमति भएको छ।
यस्तै, MIAN सचिवालयलाई सुदृढ बनाउने र कार्यसमितिलाई सहयोग गर्न एक विशेषज्ञ परामर्श टोली गठन गर्ने निर्णय पनि गरिएको छ।








