धनगढी, १५ जेठ २०७९
सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि तत्कालै सञ्चालनमा आउने पुर्ण तयारी भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए।
गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भइसकेको छ। यसै आर्थिक वर्षमा ३०० शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन्।
नेपाली कांग्रेसकी नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्य सचिव, शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो। उक्त कार्ययोजनाकै आधारमा तत्काल ३०० शैय्याको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो।
यस उच्चस्तरीय समितिका सदस्य सचिव डा. जोशी बिगतमा पनि मेडिकल सुपरिटेन्डेन्ट भएर जिल्ला अस्पताल संचालन गर्दा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार बाट सम्मानित भएका थिए। डा. जोशी नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य एवम् सुदुरपश्चिम प्रदेशका चिकित्सक संघका निवर्तमान अध्यक्ष समेत हुन्।
सदस्य सचिव डा. जोशीका अनुसार हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका छौं, सोही आधारमा यसै वर्षदेखि ३०० शैय्याको अस्पताल सञ्चालन हुने भएको छ। केही महिना अगाडि देखि संचालनमा ल्याउने कार्यहरू हुँदाहुँदै स्थानीय चुनावकि कारणले गर्दा अलिकति धकेलिएको हो।