काठमाडौं, ०९ पुस २०८२
नेपाल मेडिकल कलेज र जापानको कोबे तोकिवा विश्वविद्यालयबीच चिकित्सा विज्ञान क्षेत्रमा संयुक्त अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने उद्देश्यले समझदारी कायम भएको छ । मंगलबार कलेजमा आयोजित एक विशेष कार्यक्रमका विच दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरे ।
समझदारी पत्रमा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी र विश्वविद्यालयका कूलपति तादाशी नाकामुराले हस्ताक्षर गर्नु भएको छ ।
समझदारी पत्र अनुसार दुईवटै संस्थामा कार्यरत फ्याकल्टी तथा पिजी, पिएचडी, डिएम एमसीएच अध्ययनरत विद्यार्थीहरुले एकेडेमिक इन्टर चेञ्ज रणनीति अनुसार अध्ययन अनुसन्धान गर्न सक्नेछन् । यो समझदारीले नेपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँगै फ्याकल्टीहरुलाई पनि फाइदा हुने कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले विस्वास ब्यक्त गर्नुभयो ।
नेपाल मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित भएपनि सरकारले लागू गरेका स्वास्थ्य बीमाहरु समेत सञ्चालन गरी गरिब, विपन्न नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको जिकीर गर्नुभयो । नेपालको मेडिकल शिक्षा र चिकित्सकीय अनुसन्धानमा कलेजले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले कोबे तोकिवा विश्वविद्यालयसँगको सहकार्यले दुई देशका विद्यार्थीहरुको शैक्षिक उन्नयन र प्राज्ञिक ज्ञान विस्तारमा टेवा पुग्ने बताउनु भयो ।
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले यो सहकार्यले अनुसन्धानसँगै शैक्षिक आदान–प्रदानलाई पनि थप मजबुत बनाउने बताउनु भयो । कलेजले चिकित्सकीय अध्ययन, अनुसन्धानका विषयहरुलाई सदैव प्राथमिकतामा राखेको बताउँदै प्रबन्ध निर्देशक यासमिनले आउँदा दिनहरुमा यस प्रकारका सहकार्यलाई जोड दिएर जाने बताउनु भयो ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. मोदनाथ मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै यस सहकार्यले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, कलेजका अनुसन्धान निर्देशक प्रा.डा. शिबकुमार राईले समझदारीपत्रको उद्देश्य र महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरुको सिकाई र अनुसन्धानलाई सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
कोबे तोकिवा विश्वविद्यालयका ग्लोबल कम्युनिकेशन सेन्टर प्रमुख प्रा.डा. ताकाशी सुजुकीले सहकार्यले दुवै देशका अनुसन्धानकर्ता तथा विद्यार्थीलाई लाभ पुग्ने बताउँदै दीर्घकालीन सहकार्यप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, विश्वविद्यालयका कुलपति नाकामुराले नेपालसँगको सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाइने उल्लेख गर्नुभयो ।
समझदारीपत्र अनुसार दुवै संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नीति तथा मापदण्डअनुसार अस्पताल तथा क्षेत्रीय तहमा संयुक्त अनुसन्धान गर्नेछन् । सन् २००२ मा सुरु भएको दुवै संस्थाबीचको सहकार्यलाई यस समझदारीपत्रमार्फत नवीकरण गरिएको हो । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, प्राध्यापक तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






