बिराटनगर , ०६ माघ २०७७
नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अध्यक्षमा डा. फरवार्ड सिलवाल ९० मतको अग्रताले विजय भएका छन् । डा. सिलवालले ३ सय ६१ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्वन्दी डा. कैलाशकुमार श्रेष्ठले २ सय ७१ मत ल्याएका छन् ।
संघको १३ सदस्यीय कार्य समितिमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एक जना सदस्यले मात्रै जित हात पारेका छन् ।
सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. नवीन कर्ण १६ मतले पराजय बेहोरेका छन् । उनका प्रतिद्वन्दी डा. सञ्जीवकुमार ठाकुरले ३ सय १८ मत ल्याएर विजय भएका हुन् । डा. कर्णले ३ सय २ मत ल्याएर चित बुझाएका छन् ।
उपाध्यक्षमा सिलवाल समूहका डा. यज्ञराज खरेलले ३ सय २२ मत ल्याएर विजय भएका छन् । श्रेष्ठ समूहका उपाध्यक्षका उम्मेदवार डा. बालकृष्ण साह २ सय ९७ मत ल्याएर पराजय बेहोरेका हुन् ।
सिलवाल समूहका महासचिवमा डा. राजेन्द्र चौधरीले ३ सय ५१ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्वन्दी श्रेष्ठ समूहका डा. रविनराज सिंहले २ सय ७५ मत ल्याएर पराजय भएका हुन् ।
कोषाध्यक्षमा श्रेष्ठ समूहका डा. सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर विजय भएका छन् । सिलवाल समूहका कोषाध्यक्षका उम्मेदवार डा. सिलवन्तसेन श्रीवास्तवले ३ सय ६ मत ल्याएर पराजय बेहोरेका हुन् ।
सिलवाल समूहका सहसचिवमा डा. सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर विजय भएका छन् । श्रेष्ठ समूहका सहसचिवका उम्मेदवार डा. धीरज सिंहले २ सय ५९ मत ल्याएर पराजय भएका हुन् ।
सिलवाल समूहका सहकोषाध्यक्षमा डा. जुविन सिलवालले ३ सय ८० मत ल्याएर विजय भएका छन् । श्रेष्ठ समूहका सहकोषाध्यक्षका उम्मेदवार डा. सरवेसकुमार झाले २ सय ४८ मत ल्याएर पराजय भएका हुन् ।
सदस्यमा डा. अन्जु देव ३ सय ९३, डा. प्रेरणा दाहाल ३ सय ५०, डा. अम्रेन्द्र महतो ३ सय ३१, डा. अमरकुमार यादव ३ सय २५, डा. पार्थ गुरागाइँ ३ सय २५, डा. रोशन खडका ३ सय १७ मत ल्याएर विजय भएका छन् । डा. रोशन खडका श्रेष्ठ समूहका हुन् ।
कोशी अञ्चल शाखामा १ हजार २ सय ८१ जना चिकित्सक भएतापनि ६५० जना चिकित्सकहरुले मात्र मतदान गरेका थिए।
संघको नव विर्वाचित १३ सदस्यीय समितिको तीन वर्ष कार्यकाल हुनेछ ।