बाग्लुङ, २८ फागुन २०८२
बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ क्षेत्रमा दादुराको संक्रमण फैलिएपछि यसको नियन्त्रणका निम्ति खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
ढोरपाटन नगरपालिका क्षेत्रका १० वर्षदेखि १९ वर्ष सम्मका करिब ६ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने तयारी थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो।
शर्माका अनुसार तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाभित्रका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दादुराको खोप प्रदान गर्न लागिएको छ ।
किशोरकिशोरीसहित उपचारमा संलग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाउने तयारी थालिएको शर्माले जानकारी दिनुभयो। यस क्षेत्रमा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जनाकाे भर्ना भएर उपचार भइसकेको छ । सातजना बालबालिका अझै उपचाररत रहेका छन् । दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका ८, बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार भइरहेको छ ।
खोप सञ्चालनका निम्ति ढोरपाटन नगरपालिकाका सबै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् भने अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत खटाइएको छ । स्वास्थ्य संकटग्रस्तका रूपमा लिएर संक्रमितको खोजतलास र उपचारसँगै दादुरा नियन्त्रणका लागि खोप लगाउने तयारी गरिएको हो ।
फागुन ८ गते ढोरपाटनमा एकजनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता थप पाँचजनामा संक्रमण पुष्टि भए पनि अन्यलाई लक्षण देखिएकाले नियन्त्रणको योजना ल्याइएको हो ।
शंकास्पद बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गरिएको छ । हावाबाट सर्ने दादुराको संक्रमणबाट मानवीय क्षति हुन नदिन र समयमै उपचार गराउनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप पठाएको छ ।
बुर्तिबाङ अस्पतालमा ३० वटा बेड, औषधि र आवश्यक सामग्री स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले व्यवस्थापन गरी पठाएको थियो ।
गाउँगाउँमै पुगेर नमुना संकलन, परीक्षण र शंकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा राखिएको छ । अधिकांश बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आउने गरेको पाइएको छ । नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियानलाई ढोरपाटनमा जोडेको हो ।
बागलुङमा सन् २०२२ मा गलकोट नगरपालिकामा एकजनालाई दादुरा संक्रमण देखिएको थियो । सन् २०२४ मा निसीखोला गाउँपालिकामा एकजनामा संक्रमण देखिएको थियो ।
दादुरा संक्रमण नियन्त्रणका लागि खोप नै सबैभन्दा उत्तम उपाय भएको भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका सबै बालबालिकालाई तत्काल खोप लगाउन थालिएको हो ।





