चितवन, ८ जेठ २०८०
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ।
गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा दत्त चापागाईंका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो।
विशेष खोप अभियानमा दुई हजार दुई सय ७० बालबालिका सहभागी हुने उनले जानकारी दिए। उनका अनुसार १३ वटा केन्द्रबाट खोप दिन लागिएको हो।
गाउँपालिकाको वडा नम्बर ५ र ६ मा चैत महिनाको अन्तिम साता दादुरा रोग देखापरेको थियो । पूर्ण खोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए। दादुरा निकै छिटो सर्ने सरुवा रोग हो। यो रोग सामन्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गरेको चापागाईंले बताउनुभएको छ।
मिजल्स भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्ने उनले बताए। दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुन सक्ने कार्यालयले जनाएको छ।