मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् ।
अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
रेडियोलोजिस्टका रूपमा लामो समयदेखि मौलाकालिका अस्पतालमा कार्यरत डा. घिमिरेले अस्पतालको विकास र विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । करिब डेढ वर्षदेखि उनी अस्पतालमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । त्यसअघि अस्पतालका प्रबन्ध निर्देशकमा डा. केशबराज भूर्तेल रहेका थिए । उनी सो पदमा नरहेपछि अस्पताले डा. घिमिरेलाई जिम्मेवारी दिएको थियो । नयाँ कार्यसमितिको गठनसँगै उनलाई पुनः प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।
जिम्मेवारी पाएपछि डा. घिमिरेले अस्पताललाई थप व्यवस्थित, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा अघि बढाउन आफ्नो तर्फबाट पूर्ण प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“नयाँ जिम्मेवारीको सुरुवात भएको छ । यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै संस्थालाई अझ अगाडि बढाउन म आफ्नो तर्फबाट भरपूर प्रयास गर्नेछु । यहाँहरू सबैको साथ, सहयोग, सल्लाह र सुझावले मात्र हामी अझ अगाडि बढ्दै सफलताको यात्रालाई सार्थक बनाउन सक्छौँ,” उनले भने, “आगामी दिनमा पनि सबैको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु ।”
डा. घिमिरेले आफूलाई प्रबन्ध निर्देशकको जिम्मेवारी प्रदान गरेकोमा अस्पतालका सम्पूर्ण शेयरधनी तथा सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोगको अपेक्षा पनि गरेका छन् ।








