धनगढी , १४ श्रावण २०७८
सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालयका माननीय मन्त्री श्री लाल बहादुर खड्काले कोभिड १९ को तेश्रो लहर तयारी, रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापन सम्बन्धि प्रदेशका सबै ८८ स्थानीय तह सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
श्रावण १२ र १३ गते दुइ दिन चलेको अन्तरक्रिया कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहका प्रमुख / उप प्रमुख, जिल्ला कोभिड व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, स्थानीय तह स्वास्थ्य शाखा प्रमुख सहित स्वास्थ्यकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकास मन्त्रालयले कोभिड महामारीको तेश्रो लहरमा संक्रमित हुन सक्ने बालबालिका सहितको लागि मध्यनजर गरी स्वास्थ्य उपचार तथा व्यवस्थापनको लागि कार्ययोजना तयार गर्दै गरेको हुनाले उक्त कार्य योजनामा स्थानीय तह र जिल्ला कोभिड ब्यवस्थापन समितिका पदाधिकारीहरुको समेत राय लिएर तयार गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा माननीय मन्त्री श्री लाल बहादुर खड्काले हाल फैलिएको कोभिड महामारीको सामना गर्न संघ, प्रदेश र स्थानीय तह सहित तिन वटै सरकारहरुले साझा अवाधरणा र कार्ययोजना बनाएर अघि बढ्नु पर्ने, कार्यक्रममा एकरुपताको लागि सबैले मिलेर जानु पर्ने, प्रदेशका दुइ वटा ठुला नाका त्रिनगर डोकेबजार र गड्डाचौकी तथा अन्य दुइ साना नाका झुलाघाट बैतडी तथा पुलघाट दार्चुलाबाट नेपाल भित्रने हरुको पूर्णरुपले ब्यबस्थित तरिकाले नेपाल भित्र्याउनमा कमि हुन् नदिने, सिमाबात नेपाल भित्रने हरुको तथ्यांक सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तह संग पुग्ने गरि ब्यबस्थापन गरिने साथै भारत लगायत विदेशबाट सुदूरपश्चिम प्रदेशमा आउने व्यक्तिहरुलाई स्थानीय तह संगको सहयोग, समन्वय र सहकार्यमा अनिवार्य १० दिन क्वारेन्टाइनमा राख्ने गरि तयारि गर्ने कुरामा जोड दिनु भएको छ ।
अबको लहरमा बालबालिका बढी प्रभावित हुने आशंका गरिएको हुनाले प्रदेशका सबै अस्पतालमा बालबालिका हरुका लागि आइसोलेसन बेड ब्यबस्थापन गर्ने काम, र थप आइ सी यु र भेन्टिलेटर समेत अस्पतालमा जडान गर्ने काम भैरहेको कुरा बताउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकास राज्य मन्त्री श्री मना कुमारी साउँद, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सामाजिक बिकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की र चिकित्सा महाशाखा प्रमुख डा. जगदीश जोशीले कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा ब्यबस्थापन सम्बन्धि सुदूरपश्चिम प्रदेश को तयारी, र अब अपनाउनु पर्ने बाटोको बारेमा आ-आफ्नो बिचार राखेका थिए ।