महेन्द्रनगर, १६ फागुन २०७८
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । करिब १५ करोडको लगानीमा महेन्द्रनगरमा मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. खुल्न लागेको हो ।
फागुन तेस्रो सातादेखि सेवा सुचारु गर्ने तयारी भइरहेकोे मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. का डाइरेक्टर डा. प्रशान्त भट्टले जानकारी दिनुभयो।
‘भौतिक संरचना निर्माण सकिएर उपकरण जडान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘फागुन २१ गतेदेखि सेवा सुचारु गर्ने तयारी गरेका छौँ ।’
अस्पताल सञ्चालनमा आए पछि सामान्य स्वास्थ्य सेवाका लागि समेत जिल्ला बाहिर अथवा भारततर्फ जानु पर्ने बाध्यता हट्ने उनले विश्वास व्यक्त गरे ।
स्थानीय स्तरकै जनशक्ति उपयोग गरेर सञ्चालन गर्न लागिएको अस्पतालले यस क्षेत्रको स्वास्थ्य सेवालाई सुदृढ पार्न टेवा पु-याउने छ ।
अस्पतालमा फिजिसियन, रेडियोलोजी, हड्डी तथा नशा सम्बन्धी, २४ घण्टा इमेरजेन्सी, शल्यक्रिया, स्त्री रोग, बाल रोग, नाक कान घाँटी, अल्ट्रासाउड, एसीजी, ल्याब सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
बैशाख पछि सिटीस्क्यान सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका डाइरेक्टर डा. भट्टले बताए । यस क्षेत्रका १० डाक्टर मिलेर मन्त्र अस्पताल सञ्चालन गर्न लागेका हुन ।














