ललितपुर, २९ पुस २०७९
महालक्ष्मी नगरपालिकामा सबै वडामा संभावित क्षयरोगका बिरामीको खोजपडताल निशुल्क एक्सरे तथा खकारको परीक्षण शिबिर सम्पन्न गरेर नेपालकै पहिलो नगरपालिका बन्न सफल भएको छ ।
पुस १५ देखि २४ गतेसम्म सञ्चालन भएको स्वास्थ्य शिबिरमा ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । ५२६ जनाको छातीको एक्सरे, १२६ खकारको परीक्षण गराएको महालक्ष्मी नगरपालिकाले जनाएको छ । सबै वडाको एक्सरेसहित खकारको परीक्षण गरिएको महालक्ष्मी नगरपालिका नेपालको पहिलो नगरपालिका भएको दाबी गरिएको छ ।
स्वास्थ्य शिबिरमा कार्यक्रममा नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले महालक्ष्मी नगरपालिकालाई क्षयरोगरहित नगरपालिका बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले क्षयरोगका बिरामी भएका परिवारका सदस्यले व्यहोर्नुपर्ने प्रत्यक्ष खर्चलाई शुन्यमा झार्नुपर्नेमा बताउनुभयो । स्वास्थ्य शिबिरमा दशवटै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो ।