शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्।
स्वास्थ्य शिविरमा बानेश्वर तथा आसपासका क्षेत्रका सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने केही बिरामीहरू चोभारलगायत टाढाका क्षेत्रबाट समेत सेवा लिन आएका थिए।
शिविरमा कलेजो तथा पाचनसम्बन्धी रोगहरूको परामर्श, परीक्षण तथा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो। कार्यक्रममा जनचेतनामूलक गतिविधिहरू इन्रिच (Inreach) को सहकार्यमा सञ्चालन गरिएको थियो। जनचेतना कार्यक्रमलाई NAMS College का बीएससी नर्सिङ चौथो वर्षमा अध्ययनरत विद्यार्थी स्वयंसेवकहरूले सक्रिय रूपमा सहयोग गरेका थिए।
स्वास्थ्य शिविरमा हेपाटोलोजिस्ट डा. पुकार थापा, हेपाटोलोजिस्ट डा. रुपेश श्रेष्ठ, ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट प्रा. डा. विनोद कार्की तथा रेडियोलोजिस्ट एवं अल्ट्रासोनोग्राफी विशेषज्ञ डा. बचन मैनालीले सेवा प्रदान गरेका थिए।
शिविर सम्पन्न भएपछि आयोजित समापन तथा सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै अतिथिहरूले समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टरको प्रयासको प्रशंसा गर्दै कलेजो तथा पाचनसम्बन्धी रोगहरूको समयमै पहिचान र उपचारको महत्वमाथि जोड दिएका थिए।
कार्यक्रमको समापनमा स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग पुऱ्याउने चिकित्सक, स्वयंसेवक, सहयोगी संस्था तथा सहभागी सेवाग्राहीहरूप्रति आयोजकले आभार व्यक्त गरेको थियो। साथै, आगामी दिनहरूमा पनि समुदाय लक्षित यस्ता स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।






