ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ ।
स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने इन्टरनेशनल लिभर ट्रान्सप्लान्टेसन सोसाइटीको वार्षिक सम्मेलनमा यसबारे प्रस्तुती राख्न लागिएको हो ।
नेपालका वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहले ‘नेपालमा बिरामीहरू कलेजो प्रत्यारोपणसम्म किन पुग्दैनन् : अवरोधहरूको व्यापक विश्लेषण’ शीर्षकको अनुसन्धान प्रस्तुत गर्नेछन्।
डा. सिंहले उक्त अध्ययनले नेपालजस्ता देशमा कलेजो प्रत्यारोपणको उपचार उपलब्ध हुँदाहुँदै पनि किन धेरै बिरामी त्यससम्म पुग्न सक्दैनन् भन्ने गम्भीर पक्ष उजागर गरेको बताए। अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट यस्तो विषयमा अनुसन्धान प्रस्तुत हुनु स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको डा. सिंहले बताए ।
नेपालमा कलेजोसम्बन्धी रोगको भार बढ्दै गए पनि यसको अन्तिम र प्रभावकारी उपचार मानिने प्रत्यारोपण अझै धेरै बिरामीको पहुँचभन्दा बाहिर रहेको उनले बताए।
किष्ट मेडिकल कलेजमा गरिएको अध्ययनले यो अवस्थालाई तथ्यांकसहित प्रस्ट पारेको छ । अध्ययन अनुसार प्रत्यारोपणका लागि मूल्याङ्कनमा पुगेका बिरामीहरूको औसत उमेर ५२ वर्ष रहेको छ भने करिब ७९ प्रतिशत पुरुष रहेका छन् ।
अधिकांश बिरामी मध्यम गम्भीर अवस्थाका भए पनि सबैभन्दा ठूलो चुनौती उपयुक्त दाता नपाइनु । दाता नपाएका कारण प्रत्यारोपण गर्न नपाएकाको दर ५५.७ प्रतिशत छ । देखिएको छ । त्यस्तै आर्थिक समस्याका कारण प्रत्यारोपणसम्म पुग्न नसक्नेको दर ३२.९ प्रतिशत रहेको छ ।
यस अध्ययनले समस्या केवल व्यक्तिगत नभई प्रणालीगत रहेको देखाएको छ । अंगदानको अभाव, उपचारको उच्च लागत, जनचेतनाको कमी र कमजोर रेफरल प्रणालीले बिरामीलाई प्रत्यारोपणसम्म पुग्न कठिन बनाइरहेको अध्ययनको निष्कर्ष छ ।
डा. सिंह नेपालका प्रतिष्ठित हेपाटोबिलियरी तथा लिभर ट्रान्सप्लान्ट सर्जनमध्येका एक हुन् । अन्तर्राष्ट्रिय मञ्चमा उनको प्रस्तुतीले नेपालमा कलेजो प्रत्यारोपण सेवाको विस्तार, नीतिगत सुधार तथा जनचेतना अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।







