हुम्ला, २१ वैशाख २०८०
हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ।
उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए।
अब गाउँपालिकाभित्रका सेवाग्राहीहरुका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गर्ने उक्त एम्बुलेन्स हाल तयारी अवस्थामा राखिएको छ।
एम्बुलेन्स आउनुअगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज हुने भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए।
भारतीय दूतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण गाउँपालिकासम्म ल्याउन कठिनाइ भएको थियो।