काठमाडौं,११ असोज २०७७
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १० हजार एक सय २३ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय ८५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।
अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय नाै जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैमा ६ सय ३१ जना, ललितपुरमा एक सय चार जना र भक्तपुरमा ७२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।