काठमाडौं, ६ भाद्र २०७७
पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना गरी २१६ जनामा संक्रमण देखिएको बताए ।
पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणमा पर्नेको संख्या बढेको छ । त्यसलाई व्यवस्थित गर्न सरकारले कम्तिमा ६ हजार बेड आइसोलेसन बनाउने निर्णय समेत गरेको छ । त्यस्तै लक्षण नभएकालाई अस्पतालमा नराखी होम तथा संस्थागत आइसोलेसनमा राख्न समेत अनुरोध गरेको छ ।
डा. गौतमले पछिल्लो चौविस घण्टामा देशभर १८२ जना महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना संक्रमण देखिएको बताए । यहि अवधीमा कोरोना जितेर १३६ जना डिस्चार्ज भएका छन् ।