काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका ६ सय ५१ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न रोग तथा स्वास्थ्य समस्याका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार इसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला परीक्षणसमेत गरिएको थियो ।
शिविरमा ४३ जनाको इसीजी, ८८ जनाको भिडियो एक्सरे तथा ५२ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो। त्यस्तै, दाँतसम्बन्धी समस्या भएका ९ जनाको दाँत निकालिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा थप उपचार तथा विशेषज्ञ परामर्श आवश्यक देखिएका १५ जना बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ ।
केएमसीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानीय तह तथा सामाजिक संस्थासँगको सहकार्यमा नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमार्फत अस्पतालसम्म पुग्न कठिन हुने तथा विभिन्न कारणले स्वास्थ्य परीक्षण गराउन नपाएका नागरिकलाई उनीहरूकै समुदायमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास हुँदै आएको छ ।
पाँचखाल–५ ठाँटीमा आयोजित शिविरमा पनि स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । शिविरमा आएका बिरामीको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको थियो । जटिल वा थप विशेषज्ञ उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा जान सुझाव दिइएको थियो ।
लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजना तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न शिविरले ग्रामीण तथा स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुगेको आयोजकको भनाइ छ । आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।






