काठमाडौं, १८ साउन २०८२
बागबजारस्थित काठमाडौं मोडेल अस्पतालमा पहिलोपटक योनिको छानो खस्ने (योनीको माथिल्लो भाग खस्ने) समस्या दुर्बिन प्रविधिबाट सम्पन्न गरिएको छ।
परम्परागत रूपमा हुँदै आएको शल्यक्रियाको सट्टा दुर्बिनबाट प्वाल पारी जाली राखेर नेपालमै पहिलोपटक गरिएको मोडेल अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गणेश दंगालले बताउनुभयो ।
डा. दंगालका अनुसार यसअघि योनिमार्गबाटै योनिको छानोको शल्यक्रिया भए पनि दुर्बिन विधिबाट छानो फिक्स गर्ने शल्यक्रिया भने पहिलोपटक भएको हो। नेपालगन्जकी ५५ वर्षीया एक महिलामा यस्तो शल्यक्रिया गरिएको हो।
यी महिला गत साता योनिको छानोसँगै ठूलो आन्द्रा, पिसाब थैली, सानो आन्द्रासमेत झेरपछि उपचारका लागि अस्पताल पुगेकी थिइन्। उनमा छिटो–छिटो पिसाब लाग्ने, दिसा पूरै ननिख्रिने, तिघ्राको बिचमा घाउ हुने समस्या लिएर आएकी थिइन्। शल्यक्रियाबाट स्वास्थ्यमा सुधार भएपछि उनी हालै डिस्चार्ज भएकी हुन्। उनको पाठेघरको शल्यक्रियापछि मांसपेशी कमजोर भएर योनिको छानो (मिाथिल्लो भाग) नै खसेको हो।
यो शल्यक्रियामा विशेषगरि थ्रिडी दुर्बिनको सहायताले माथिल्लो भाग अर्थात् पेल्भिक हड्डीमा जाली (कृत्रिम जाली) जडान गरी छानो सिलाइएको छ। यसरी गरिएको शल्यक्रियाबाट अबदेखि योनि नै खस्ने जोखिम नभएको डा. दंगालले बताए। हड्डीमै फिक्स गरेर सिलाएपछि योेनिको छानो खस्ने जोखिम रहँदैन।
यो शल्यक्रियाका लागि थ्रिडी ल्याप्रोस्कोपी मेसिनको सहयोगले सहज भएको डा. दंगाल बताउँछन्। थ्रिडी ल्याप्रोस्कोपीबाट पाठेघर तथा कुनै पनि अंगको गहिराइ देखिने भएकाले नजिकका अंगहरूमा चोटपटक लाग्ने जोखिम कम हुने डा. दंगालले भने।
डा. दंगालका अनुसार टुडी ल्याप्रोस्कोपीबाट अंगको सतह थाहा भए पनि गहिराइ थाहा हुन सम्भव छैन। थ्रिडी ल्याप्रोस्कोपीले सम्बन्धित अंगनजिक रहेको रगत नली, स्नायु, पाठेघरपछिको ठूलो आन्द्राबिचको भाग कति छ भने यकिन गर्न सकिन्छ।
योनिको छानो खस्ने समस्यामा पहिला योनि मार्गबाटै औजार पठाएर शल्यक्रिया गरिन्थ्यो। यो विधिबाट गर्दा योनिको छानो कमजोर भई पुनः झथ्र्यो। यस्तो शल्यक्रिया दुईदेखि तीनपटकसम्म गर्नुपथ्र्यो। हर्निया उपचारमा यो विधि प्रयोग भए पनि योनिको छानो खसेको शल्यक्रियामा भने दुर्बिनबाट जाली राखेर गरिएको पहिलो सफलता भएको डा. दंगालले बताए। डा. दंगालले विदेशमा गएर यस्तो शल्यक्रियाको तालिम लिएर आएपछि नेपालमा पनि सम्भव भएको हो।
नेपालमा पाठेघरको शल्यक्रिया गरेपछि योनिको छानो निस्कनेको यकिन तथ्यांक छैन, तर शल्यक्रिया गरी योनिबाट पाठेघर निकालेका महिलाको १० देखि १५ प्रतिशत पाठेघर झर्छ। दुर्बिनबाट पाठेघर निकालेको हकमा पाँचदेखि सात प्रतिशत महिलाको योनिको छानो खस्ने समस्या हुने मेडिकल तथ्यांक छ।
मोडेल अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अमोघ बस्नेतका अनुसार नेपालमा सानो उमेरमै पाठेघर निकालेकाहरूको पनि पछि गएर मांसपेशी कमजोर भएपछि योनिको छानो बाहिर निस्कन्छ।