भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी सुरु गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ गरेको जानकारी गराएको हो। विश्वव्यापी रूपमा प्रभावकारी मानिएको अत्याधुनिक ‘कार टी सेल’ (केमिरिक एन्टिजिन रिसेप्टर-टी सेल) थेरापी सेवा नेपालमा ४५ लाख रुपैयाँमा प्रदान गर्न सकिने सेन्टरका अध्यक्ष क्यान्सर रोग विज्ञ प्रा. डा. अन्जनी कुमार झाले जानकारी दिए ।
डा. झाका अनुसार यो प्रविधि भित्रिएसँगै नेपाल कार टी सेल उत्पादन गर्ने संसारका सातवटा मुलुकहरू र यो सेवा उपलब्ध गराउने करिब ३५ वटा देशहरूको सूचीमा पर्न सफल भएको छ ।
डा. झाले सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपाल’ नामक कम्पनीले नेपालमै उत्पादन गरेको कार टी सेललाई बिरामीमा प्रत्यारोपण गर्न लागिएको हो। यो विशेष र जटिल प्रविधि भएको हुनाले यसको शुभारम्भ र विकासका लागि भारत तथा जर्मनीका प्राविधिक टोलीहरूसँग सहकार्य गरिएको छ।
नेपालमा यस उपचारका लागि बिरामीले ४५ लाख रुपैयाँ तिर्नुपर्ने सेन्टरले जनाएको छ, जुन छिमेकी मुलुक भारतको तुलनामा निकै कम हो। भारतमा यो सेवाका लागि ५० लाख भारतीय रुपैयाँदेखि एक करोड भारतीय रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ।
डा. झाले भने, हामीले विगत २ वर्षदेखि कार-टी सेल थेरापी सेवा सुरु गर्नका लागि आवश्यक तयारी अगाडि बढाउदै यो सेवा सुरु गर्नका लागि आवश्यक पूर्वाधारदेखि प्रविधिको तयारी र जनशक्तिलाई तालिमदिने देखि आवश्यक सबै तयारी गरेका थियौं।
काठमाडौं क्यान्सर सेन्टरका प्रमुख डा. सिमित सापकोटाले कार टी सेल थेरापीले शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरसँग लड्ने एक अत्याधुनिक किसिमको इम्युनोथेरापी भएको बताए ।
डा. सापकोटाका अनुसार अझ सहज रुपमा भन्नुपर्दा बिरामीकै शरीरमा रहेको टी-सेललाई अत्याधुनिक प्रयोगशालामा थप परिमार्जन गरेर क्यान्सरको शिकार गर्ने विशेष रिसेप्टर (CAR) जोडिने भएकोले यसलाई कार टी-सेल भनिएको हो।
सामान्यतया यसले शरीरमा हुने ‘टी सेल’ नामक श्वेत रक्तकोषहरूले रोगजन्य कोशिका पहिचान गरी नष्ट गर्छन्। तर, क्यान्सर लागेको अवस्थामा क्यान्सरका कोशिकाहरू यी टी सेलबाट लुक्न सफल हुन्छन्। यस थेरापी अन्तर्गत आवश्यक परीक्षणपछि उपयुक्त देखिएका बिरामीको शरीरबाट टी सेल निकालिन्छ। उक्त टी सेललाई सीआरएम नेपालको ल्याबमा लगेर ‘किमेरिक एन्टिजेन रिसेप्टर’ जीन राखी आनुवंशिक रूपमा परिवर्तन गरिन्छ। यसले गर्दा टी सेलमा क्यान्सरको सतहमा रहेको विशेष प्रोटिनलाई स्पष्ट रूपमा चिन्ने क्षमता विकसित हुन्छ।
डा. सुवास पण्डितका अनुसार प्रयोगशालामा यसरी परिवर्तित टी सेलहरूलाई लाखौँको सङ्ख्यामा बढाएर पुनः बिरामीको शरीरमा पठाइन्छ, जसले क्यान्सर कोशिकामाथि आक्रमण गरी तिनलाई नष्ट गर्छन्। टी सेल राखेपछि बिरामीलाई दुईदेखि तीन हप्तासम्म अस्पतालमै कडा निगरानीमा राखेर डिस्चार्ज गरिने हुन्छ।






