उदयपुर, २९ भाद्र २०८१
गत वर्ष स्थानीय तह अन्तर्गत रहेका देशभरीका ३३ अस्पताल मध्ये उत्कृष्ट बन्न सफल कटारी अस्पतालले यस वर्ष पनि उत्कृष्टता कायम राखेको छ ।
नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड अनुगमन टोलीले मापन गर्दा कटारी नगर अस्पताललाई यस वर्ष पनि १ सय अंकमा ८३ अंक प्राप्त भएको छ।
गत वर्ष पनि ८३ अंक नै प्राप्त गरी अस्पत्ताल उत्कृष्ट बनेको थियो । उक्त अंक यस वर्ष पनि कायम राखेको प्रदेश सरकार स्वास्थ्य निर्देशानलय धनकुटाका रविकुमार साहले बताउनुभयो ।
प्रदेश स्वास्थ निर्देशनालयले ६ /६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा रहेको कटारी अस्पताल यस पटक पनि आफ्नो अंक कायम राख्न सफल भएको हो ।
अनुगमन पश्चात आज एक कार्यक्रम गरी निर्देशनालयले नतिजा सार्वजनिक गरेको हो । विगत केही वर्ष यता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालले यस पटक थप प्रगति गरेको अस्पत्तालका मेडिकल सुपरिडण्टेड डा. गौरब साहले बताउनुभयो ।
यस पटक १५ वेडको कटारी अस्पत्ताललाई कोशी प्रदेश सरकार हुँदै संघिय सरकारले समेत ५० वेड सहित प्रदेश अस्पत्ताल बनाउन अनुमति दिईसकेको मेडिकल सुपरिडेण्टेड डा. साहले बताउनु भयो। सरकारबाट बजेट आउन बाँकी छ अनुमति आईसकेको छ यो थप सफलता हो ।
नगरपालिका मातहत संञ्चालनमा रहँदा देशभर नै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको अस्पताललाई नगरले जहिले सहयोग गर्ने नगरपालिकाकी उपमेयर गिता खड्काले बताउनुभयो । “स्थानीय निकाय भएकाले यसको दायित्वबोध जहिले हामी गछौं ।”उपमेयर खड्काले भन्नुभयो ,“जसले चलाएपनि सेवा पाउने स्थानीय नै हो समस्या हुँदा हामीले नै समाधान गर्नुपर्छ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले अस्पताललाई आवश्यक सहयोग रहने बताउनुभयो ।
त्यसैगरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले अस्पताललाई यहाँ ल्याइपुर्याउने सवै जनाको उत्तिकै मेहनत रहेको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रमाया खड्काले बिगतमा भएका कमिकमजोरीलाई आगामी दिनमा थप सुधार गर्ने बताउनुभएको थियो।