जुम्ला , १० असार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा काममा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।
फरक फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।
हिजो राति नतिजा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
ती कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक हप्तादेखि १४ दिन निरन्तर काम गरिरहेका कर्मचारीहरुमा पोजेटिभ देखिएपछि अहिले अस्पताल क्षेत्रमा त्रास छाएको छ ।
यस्तै एकजना बुटवलका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
समुदायबाट नै सङ्क्रमण आएको हुन सक्ने निर्देशक डा. रावलको भनाइ छ । फरक फरक विभागका कर्मचारीमा कसरी सङ्क्रमण देखियो भन्नेबारे अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
अस्पतालमै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएपछि आज प्रतिष्ठानका काममा खटिएका सवैको स्वाब परीक्षणको तयारी गरिएको अस्पतालले जनाएको छ ।
यसअघि जुम्लाका कोरोना सङ्क्रमितमध्ये २५ जना निको भएर घर फिर्ता भइसकेका र ती जना अहिले पनि आईसोलेसनमा रहेका प्रतिष्ठानले जनाएको छ ।