काठमाडौं, ४ माघ २०७९
कान्तिबाल अस्पतालले बिरामी र सेवाग्राहीहरुको सहजता र भिडभाड कम गराउनका लागि २ ओटा काउन्टर थपेको छ।
बुधबार उक्त सेवाग्राहीहरुका लागि सहजताका लागि टिकट काउन्टर थपेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतम, अस्पतालका निर्देशक डा. बसौलाले संयुक्त रुपमा काउन्टर उद्घाटन गरेका हुन् । निर्देशक डा. बसौलाले भने, ‘अब बिरामीलाई टिकट काट्दा अलिक सहज हुन्छ। हामी छिट्टै अनलाइन टिकट सुरु गर्ने योजनामा छौं।’
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी मन्त्रालयमा पदभार ग्रहण गरे लगत्तै मंगलबार कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका थिए।
अनुगमनका क्रममा उनले विभिन्न सेवाहरू सुधार गर्न निर्देशन दिएको थियो। अस्पतालको इमरजेन्सी, आईयीयू, पिआईसीयू, अंकोलोजी लगायतका वार्डहरुको अवलोकन गरेका थिए। अस्पतालमा बेड नभएर अन्य ठाउँमा जानुपर्ने अवस्था देखिएको भन्दै आम मानिसले अनुभूति गर्ने गरी १५ दिनभित्र सेवामा सुधार गर्न उनले निर्देशन दिए। सो क्रममा उनले अस्पतालमा बिरामी कुरुवाहरुले प्रयोग गर्ने शौचालय फोहर भएको भन्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए।
यस्तै बिरामी कुरुवाहरुका लागि बस्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए। ‘आएका बिरामीले राम्रो उपचार पाउनुपर्छ मन्त्रीका हैसियतले मैले के गर्नुपर्छ म गर्छु,’ उनले भने, ‘देखिनेगरी अब सेवामा सुधार आउनुपर्छ।’
राज्यको स्वास्थ्यमा लगानी थोरै भएको भन्दै उनले आगामी दिनमा त्यसतर्फ पनि ध्यान दिने बताए।