बाजुरा, ०१ वैशाख २०८०
बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको बाजुरा जिल्ला अस्पतालले जनाएको छ।
तीन महिनादेखि लगातार बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
बालकको उपचारका क्रममा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो। गिरीका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ।
रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए।
गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डोमा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डा. मिलन जोशीले बताउनुभयो।
डा. जोशीका अनुसार गर्मीमा कालाजार, डेङ्गु लगायत रोगको जोखिम बढी हुने गरेको छ। यो सँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या पाँच पुगेको छ। यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो।