विराटनगर, १० असार २०८०
सुदर्शन देवकोटा स्मृति तेस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार यस वर्ष बिराटनगरकी पत्रकार जुनु भट्टराईलाई प्रदान गरिएको छ।
शारदा सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकार मञ्च नेपालसंगको सहकार्यमा स्थापना गरेको सो पुरस्कार पाउने उनी मोफसलकी पहिलो पत्रकार हुन्। पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ तथा प्रमाणपत्र रहेको छ।
लामो समय काठमाडौँमा रहेर स्वास्थ्य पत्रकारिता गरिरहेकी भट्टराई पछिल्लो समय बिराटनगरलाई आधार बनाएर सोही कामलाई निरन्तरता दिइरहेकी छन्। हाल उनी चिनारी मिडियासंग आवद्ध छिन्।
शुक्रबार बिराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सभामुख बाबुराम गौतम, कोशी प्रदेशका स्वास्थ्य मन्त्री तिलकुमार म्याङ्बो, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै सभामुख गौतमले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न पाउनु आफ्नो लागि पनि महत्वपूर्ण रहेको बताए। उनले बाबु आमाका नाममा पुरस्कार स्थापना गर्ने सन्ततीको प्रशंसा गर्दै यसले स्वास्थ्य क्षेत्र सुधारका लागि समेत सहयोग पुग्ने बताए।
स्वास्थ्य मन्त्री म्याङ्बोले फाउण्डेशनले स्वास्थ्य क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने कदमलाई नयाँ अवधारणा भन्दै प्रशंसा गरे। उनले पुरस्कारले पत्रकारहरुलाई थप हौसला हुने बताए। स्वास्थ्य विषय जटिल विषय हो भन्दै यसमा क्रियाशिल रहेर पुरस्कार प्राप्त गरेको भन्दै प्रेरणा जाग्ने विश्वास व्यक्त गरे।
प्रतिष्ठानकी अध्यक्ष डा देवकोटाले आफ्नो बुबाको नाममा स्थापित गरेको पुरस्कारको चर्चा गर्दै पत्रकारिता के हो भन्ने विषयमा आफूले बुबाबाटै थाहा पाएको बताईन्। लामो समयसम्म कान्तिपुरमा काम गरेका पिताको कार्यलाई जिवन्त राख्नका लागि पुरस्कार वितरण गर्ने कार्यको थालनी गरेको बताइन्।
कार्यक्रममा फाउण्डेशन, पुरस्कारको स्थापना र मञ्चसंगको सहकार्यबारेमा कार्यकारी निर्देशक बास्तोलाले प्रकाश पारेका थिए। उनले मञ्चसंगको यो सहकार्यलाई थप व्यवस्थित बनाई अघि बढाउने बताए।
पुरस्कृत पत्रकार जुनु भट्टराईले लामो समय देखि गरेको कामको आफूलाई उक्त पुरस्कार आशिर्वाद स्वरुप मिलेको बताईन्। उनले आफूले कर्ममा विश्वास राख्ने भन्दै काम गर्दै जाँदा फल पनि मिल्ने रहेछ भन्दै खुशी व्यक्त गरिन्।
मञ्चका अध्यक्ष ढुंगेलले पत्रकार पुरस्कार गर्ने कार्यमा फाउण्डेशनसंगको आवद्धताबारेमा प्रकाश पारे। उनले स्वास्थ्य विटमा अहिले धेरै पत्रकारहरुको आकर्षण थपिएको भन्दै यसलाई थप व्यवस्थित गर्दै अघि बढाउनु पर्नेमा जोड दिनुभयो।