काठमाडौं , ५ साउन
विदेशमा काेराेना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत निको भएका छन् । अहिलेसम्म खाडीका देश र मलेसियासहित विभिन्न देशमा ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ हजार ६ सय ८१ जना निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
खाडीका देशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या बढेको छ । मलेसियामा भने नयाँ कोरोना सङ्क्रमित भेटिने क्रम निकै घटेको छ । यी देशमा कोरोना सङ्क्रमणको दर घटेसँगै आर्थिक गतिविधि पनि विस्तारे सुरु हुन थालेका छन् । त्यहाँ कार्यरत नेपाली पनि काममा फर्कंन थालेका छन् ।
विश्वका दुई सय १३ देशका एक कराेड ४६ लाख ४४ हजार ३६० जनामा सङ्क्रमण फैलिसकेको छ । ६ लाख ८ हजार ९११ जनाको ज्यान गएको छ भने ८७ लाख ३५ हजार २९८ जना निको भएका छन् ।
यस्तै मलेसिया लगायत खाडीका ६ देशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५ लाख ८५ हजार १३८ पुगेकाे छ । जसमध्ये ४ लाख ८४ हजार ३९० जना निकाे भइसकेका छन् भने ९६ हजार ७९३ जना उपचाररत छन् । यी देशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ३ हजार ९५५ पुगेकाे छ ।
तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् । अहिले समस्यामा रहेका नेपालीकाे स्वदेश फिर्तीकाे भइरहेकाे छ । टिकट काट्नका लागि दूतावासले ताेकेकाे र भनेकाे ठाउँबाट मात्र काट्नुहाेस् । टिकट काट्नुअघि दूतावासमा सम्पर्क गरेर आफू प्राथमिकतामा परेको हो होइन निश्चित गर्नुहोस् नत्र ठगीमा पर्न सकिन्छ ।
सरकारले अब विदेशमा अलपत्र परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने र रोजगारदाताले पनि टिकट खर्च नदिएका श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर उद्धार गर्ने भएको छ ।
Comments 1