कैलाली , २२ फाल्गुन २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा नसर्ने रोग सम्बन्धिको सरोकार वाला संग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
धनगढीको रुबस होटलमा आयोजित एक दिने नसर्ने रोग सम्बन्धिको अन्तरक्रिया गोष्ठी प्रदेश प्रमुख सचिव श्री राम कृष्ण सुबेदीको प्रमुख आतिथ्यतामा तथा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीको अध्यक्षतामा र प्रदेशका अन्य मन्त्रालयका सचिव लगायत सरोकारवाला निकायका ४५ बढीको सहभागितामा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका मेडिकल अफिसर डा. भुषण मिश्रले कार्यक्रमको उद्देश्य र विश्व स्वास्थ्य संगठनका डा. अनुप बिक्रम बिसीले हाल बिश्वब्यापी रुपमा बढ्दै गईरहेको नसर्ने रोगको भार र नसर्ने रोगबाट बच्नको लागि अपनाउन सकिने उपायको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रस्तोताहरुले संसारमा हुने कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगको कारणले हुने गरेको र खास गरि मुटु तथा रक्त नलीको रोग , मधुमेह , दीर्घ स्वाश प्रश्वास रोग , क्यान्सर ( स्तन र पाठेघर ) गरि प्रमुख चार वटा नसर्ने रोगको समस्याले मानिसहरु प्रभावित हुदै गएको जानकारी गराउनु भएको छ ।
मानिसको जीवनशैली , आहार बिहार , असन्तुलित भोजन , सुर्तीजन्य पदार्थको सेवन तथा मदिराजन्य बस्तुको सेवनले हाल नेपाल लगायत विश्वका अन्य देशमा सर्ने रोग भन्दा नसर्ने रोगको प्रभाव तिब्र गतिले बढिरहेको छ । यसको तिब्रता दर घटाउन र मानिसहरुलाई यस रोगको प्रभावबाट बचाउन नियमित व्यायाम , सन्तुलित भोजनको सेवन तथा सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्नु नै यस प्रकारको समस्या बाट बच्न सकिने प्रमुख उपाय हुने कुरा समेत क्रायक्रममा बिज्ञहरुले बिचार व्यक्त गरेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव श्री राम कृष्ण सुबेदी ज्युले सुदूरपश्चिम प्रदेशमा ३७ प्रतिशत मानिसहरु निरक्षर रहेका , ४२ प्रतिशत व्यक्तिहरुमा पोषणको कुनै न कुनै समस्या रहेको र ४५ प्रतिशत व्यक्तिहरु गरिबीको रेखा मुनि रहेका हुनाले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा स्वास्थ्य समस्याको भार बढी नै रहे पनि प्रदेश ले स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सेवा लाइ प्रभावकारी बनाउन म हिड्छु मेरो प्रदेश हिड्छ लगायतका अन्य नमुना स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको कुरा बताउनु भएको छ ।

अन्तरक्रिया गोष्ठीका अध्यक्ष सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थीले समग्र प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि आफुले काम गरिरहेको र प्रदेशका सरोकार वाला निकायहरुले एक स्वास्थ्य रणनीति अनुसार मानव स्वास्थ्य , पशु स्वास्थ्य , वातावरणीय स्वास्थ्यका लागि सबै निकायले आ- आफ्ना कार्यक्रमहरु केन्द्रित गरेमा मात्र प्रदेशमा व्याप्त सर्ने र नसर्ने रोगको भार र समस्या कम गर्न सकिने बताउनु भएको छ ।