काठमाडौं, ८ फागुन २०७९
भारत सरकारले नेपाललाई पहिलो खेपमा २०० थान हेमोडायलासिस मेसिन सहयोग गरेको छ । मिर्गौैला रोगका बिरामीको उपचारमा प्रयोग हुने मेसिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।
दुतावासले आज पहिलो खेपमा आएको २०० वटा मेसिन हस्तान्तरण गरेको हो । दुतावासले बाँकी मेसिनहरु केही दिनै आइपुग्ने जानकारी दिएको छ ।
सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन आफूहरुले मेसिन सहितको सहयोग गरेको बताए । उनले पहिलो खेप आज हस्तान्तरण गरेको भन्दै बाँकी मेसिन पनि केही दिन भित्रै आइपुग्ने बताए । सो अवसरमा उनले नेपालको स्वास्थ्य क्षेत्रका लागि भारतले निरन्तर रुपमा सहयोग गर्दै आएको समेत बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पदम गिरीले भारत सरकारका तर्फबाट भएको सहयोगको प्रशंसा गरे । उनले ने्पालको स्वास्थ्य क्षेत्रमा भारतले अत्यावश्यक उपकरण, एम्बुलेन्स देखि अन्य भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको भन्दै दुई देश बीचको असल छिमेकीको सम्वन्ध अझ प्रगाड रहने विश्वास व्यक्त गरे ।
करीव एक वर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा २०० वटा डायालसिस मेसिन सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।