नँया दिल्ली :
पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमितको कुल सङ्ख्या २० लाख ३० हजार चार सय सात पुगेको हो ।
गएको २० दिनमा सङ्क्रमण दुई गुणा भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।
भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भएको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो ।
अहिलेसम्म विश्वभर एक करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा सात लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २३ लाख ७२ हजारभन्दा धेरै निको भइसकेका छन् ।