काठमाडौं, १ फागुन २०७९
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटुको समस्या देखिएको छ।
सोमबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक वर्ष लगाएर गरेको एक अध्ययनका अनुसार बुढानीलकण्ठका ५ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी बालबालिकाको मुटु परीक्षण गरिएकोमा १५५ जनामा समस्या देखिएको केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले बताउनुभयो ।
डा. अधिकारीले तीमध्ये ९ जनामा बाथ मुटुरोग र १४६ जनामा जन्मजात मुटुरोग देखिएको पनि जानकारी दिए । उनले अब मुगु जिल्ला र धादिङ्गको धुनिवेसी गाविसमा पनि यस्तै अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए । साथै अध्ययनका क्रममा समस्या देखिएका बालबालिकाको उपचार गंगालाल अस्स्पतालमा नि: शुल्क गरिने पनि उनले बताए।
बुढानीलकण्ठ नगरपालिकाका १९ सरकारी विद्यालयहरुका ३८२० र निजी विद्यालयका ९१८० जनामा स्क्रिनिङ गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।